काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले दलाल, पुँजीवादले खडा गरेका समस्या समाधान नगरी मुलुकमा कानुनी संवैधानिक व्यवस्था र नयाँ राजनीतिक प्रयत्न सफल हुन सक्ने अवस्था नरहेको बताएका छन्। उनले बिचौलियातन्त्रमाथि प्रश्न नउठाए नयाँ र स्वतन्त्र भनिएका दलहरूको हविगत पनि छिट्टै पुरानै दलको जस्तो हुने बताए।
समाजवादी पेशागत कानुन व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रममा उनले नयाँ र स्वतन्त्र भनिएका दलहरूले दलाल, पुँजीवादमाथि प्रश्न नउठाएकाले छिट्टै उनीहरू पनि पुराना पार्टीजस्तै बन्ने दाबी गरे। मुलुकमा रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने जिकिर गरे। महासचिव भुसालले दलाल पुँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरे।
‘त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन् । र, त्यो भन्दा राम्रो रोजगारी पाउँछन् । यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन्,’ उनले भने। महासचिव भुसालले आफ्नो पार्टी मात्रै दलाल, पुँजीवादले निम्त्याएका समस्या समाधान गरेर समाजवादतर्फको यात्रामा अघि बढ्ने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबीसमेत गरे।
उनले आफ्नो पार्टीले समाजवादको निर्माणको आधार तय गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले पार्टी निकट कानुन व्यवसायीलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराए।

