काठमाडौं। संसदको अवरोध खुलाउने विषयमा तीन शीर्ष नेताबीच भएको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो।
संघीय संसद्को अवरोध हटाउन एमाले तयार देखिएको छ।एमालेका एक नेताका अनुसार छलफल सकारात्मक भएको छ। बैठकमा के भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ।’ तीन शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ।

