काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन्। काठमाडौंमा बिहीबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले रास्वपा तत्काल सरकारमा सहभागी हुने योजना नरहेको प्रष्ट्याए।
‘उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं। उहाँहरूको जे समझदारी भएको छ त्योअनुसार नै गठबन्धन गए हुन्छ। हामी संगठन निर्माणमा नै लागेका छौं। हामी सरकारमा जाने रेसमा छैनौं,’ उनले भने, ‘हामी स्थायित्वका पक्षमा छौं। जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौं र जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो।’
सभापति लामिछानेले आफूहरू प्रमुख प्रतिपक्ष नेकपा एमालेको पछि नलागेको पनि स्पष्ट पारे। आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएको उल्लेख गर्दै उनले रास्वपा एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएमा असन्तुष्टि जनाए। आफ्नो एजेन्डामा अगाडि बढिरहेको उनले बताए। संसद् र बाहिर पनि राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना एजेन्डामा नै अघि बढ्ने लामिछानेको भनाइ थियो। उनले कुनै पनि दलको पछि लाग्ने र उनीहरूका एजेन्डा बोक्ने पक्षमा आफू नरहेको बताए। पुराना पार्टीहरूसँग विभिन्न चरणमा सहकार्य गर्दा उनीहरूसँगै गएको आरोप लागेको भन्दै उनले आफ्नो निर्णयमा चलिरहेको प्रष्ट पारे।

