काठमाडौं। नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक आज मंगलबार बस्दै छ। पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ। एक वर्षपछि बस्न लागेको बैठकको लागि विभिन्न १० एजेण्डा तय गरिएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले मंगलबार बस्ने केन्द्रिय कार्यसमिति बैठकको एजेण्डा तय गरेको हो।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ। बहुचर्चित ललिता निवस जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड र त्यसमा मुछिएर कारागार पुगेका पूर्वमन्त्री बालकृष्ण खाँणको विषयलाई भने कांग्रेसले छलफलको एजेण्डा बनाएको छैन।
यसैगरी बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ भने कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्ताव गरिनेछ।
केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ। अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने छन्।

