काठमाडौं। राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन्। नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो।
सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन्।
नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए। संघले हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो।