काँग्रेसको स्वास्थ्य ठीक पार्न सर्जरी गर्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले पार्टीको स्वास्थ्यमा समस्या रहेकाले यसको सर्जरी गर्न आवश्यक रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले विभिन्न समयमा भएका घटनाले पार्टी संकटमा पुगेको बताए।

उनले पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्ने बताए। ‘पार्टीलाई सुधार गर्न जरुरी छ,’ पौडेलले भने, ‘पार्टीको स्वास्थ्यमा समस्या छ। सिटामोलबाट यो समस्या हल हुने स्थिति छैन। कतिपय अवस्थामा सर्जरीकै आवश्यकता छ। लामो समयदेखि भएका विभिन्न घटनाहरूका कारणले पार्टीमा पलायन, निष्क्रियता र विद्रोहको मानसिकता देखिन थालेको छ। हामीले यो स्थितिलाई अन्त्य गर्न सक्नुपर्छ।’

उनले बहसमा आइरहेको ‘मास बेस्ड’ सदस्यता वर्गीकरण आवश्यक नभएको बताए। उनले एकै प्रकारको सदस्यता बनाउनुपर्नेमा जोड दिए। ‘सदस्यता दिने र लिने हुँदैन, मेरो विचारमा सदस्यता जसले खोजेको हुन्छ। त्यसले पाउने व्यवस्था हुनुपर्छ,’ पौडेलले भने, ‘एक प्रकारको मात्रै सदस्यता हुनुपर्छ। त्यो सदस्यता लिन चाहनेलाई दिनुपर्छ।’

सदस्यता दिने प्रावधान पनि सहज हुनुपर्नेमा उनले जोड दिए। पौडेलले सभापति चुन्न पार्टीका सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गर्न प्रस्ताव गरे। पार्टीले उम्मेदवार चयन गर्दा अनिवार्य प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्ने उनको भनाई छ। पौडेलले चुनावमा पार्टीको टिकट वितरण प्रक्रियालाई पनि सुधार गर्नुपर्ने धारणा राखे।

‘पार्टीको सभापतिसहित नेतृत्व चुन्ने चुनावमा सबै सदस्यले भोट हाल्ने व्यवस्था गरौं। प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौं,’ उनले भने, ‘हामीले पार्टीको एउटा व्यक्तिलाई चार पटक भन्दा बढी संघीय सांसदको टिकट दिनुहुँदैन। प्रदेशमा २ पटक र समानुपातिकमा १ पटक मात्रै अवसर दिने प्रबन्ध गरौं।’

कार्यसम्पादन समितिका निर्णय २ महिनाभित्र केन्द्रीय समिति बसेर अनुमोदन नभए बदर हुने व्यवस्था गर्न उनको माग छ। पौडेलले गणतन्त्र प्राप्तपछि उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिनको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने बताए। ‘हामीले सबै घटनाको छानबिन गर्ने नेतृत्व लिनुपर्छ। उच्चपदस्थहरूको सम्पत्ति छानबिनको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ। यी घटनाहरू भावना मात्र होइनन्। यी नैतिक र कानुनी प्रश्नहरू पनि हुन। यसमा हाम्रो पार्टीका केही नेताहरू पनि अप्ठेरोमा हुनुहुन्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर