प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार इटली प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रचण्ड शनिबार साँझ इटली जान लागेका हुन्।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फूड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रम साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। प्रधानमन्त्री दाहाल साउन ८ गते कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ। अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही दिन नै प्रधानमन्त्री दाहालले विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा पनि सहभागी जनाउनेछन्। साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफल पनि प्रधानमन्त्री सहभागी हुनेछन्।

भ्रमणका क्रममा उनले संयुक्त राष्ट्र संघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ। प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा स्वकीय सचिव गंगा दाहाल,कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल,राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता रहनेछ। प्रधानमन्त्री दाहाल साउन १२ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर