बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न सकेन : विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा काँग्रेसलाई अगाडि बढाइने बताएका छन्।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उनले बिपीको विचार र चिन्तनलाई समावेश गरेर काँग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताएका हुन्।

‘लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बिपीलाई चिन्नुपर्छ, बिपी दूरदर्शी र परिपक्व नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई काँग्रेसले छाडेको छैन,’ उनले भने। महामन्त्री शर्माले नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको गुनासो गरे।

‘बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुपर्‍यो,’ महामन्त्री शर्माले भने। उनले तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको काँग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताए।

‘हामीले विसं २०८४ को निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, संगठनलाई बलियो बनाउने हो,’ उनले भने। प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भए मात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन काँग्रेस लाग्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर