काठमाडौं। सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो।
कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार स्वतस् आफूलाई मुख्यमन्त्री बनाउन दिएको रिट भने सर्वोच्चले खारेज गरिदिएको छ।
गत असार २१ गते सत्तारूढ गठबन्धनका दलहरूले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। उनीहरूको दाबीबमोजिम प्रदेश परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
सर्वोच्चले कोशी प्रदेशमा अब दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन सात दिनको समय दिएको छ। यसरी सरकार बन्न नसके संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सरकार बनाउन सर्वोच्चले भनेको छ।

