गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताएका छन्। काठमाडौंमा आज आयोजित बहुआयामिक हलोक्रान्ति-२००६ विषयक विचार गोष्ठीमा उनले दुराडाँडाको हलोक्रान्ति चेतना र क्रान्तिको सुरुवात भएको धारणा राखे।

‘शिक्षाको चेतना व्यापक भएको लमजुङको दुराडाँडामा चेतनाकोस्तर विकसित भएको कारण नै हलोक्रान्ति भएको भन्ने मलाई लाग्छ,’ उनले भने, ‘हलोक्रान्ति सामान्य घटना होइन, हलोक्रान्तिको अगुवाइ चार जना महत्त्वपूर्ण व्यक्तिले गर्नुभयो, त्यसबेला ब्राह्मणले हलो जोत्ने घटना असामान्य थियो।’ गलत परम्परालाई हलोक्रान्तिले तोडेको भन्दै उनले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले सबै जातजाति, भाषाभाषी, संस्कृति, सम्पदाको संरक्षण गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे। दुराडाँडालाई पहिलेको जस्तो हराभरा र स्मृतिलाई ताजा बनाउन सबै लाग्नुपर्ने उनको भनाइ छ। हलोक्रान्तिको महत्वलाई देशभर लैजानुपर्ने भन्दै उनले दुराडाँडामा निर्माण गर्न लागिएको हलो पार्क र हलो स्तम्भलाई सरकारको तर्फबाट सहयोग हुने अर्थमन्त्री डा महतले बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले श्रम र शिल्पबाट ठूलो र सानो जातिको उदय भएकाले त्यसलाई अन्त्य गर्न लमजुङबाट हलोक्रान्तिको थालनी भएको बताए। ‘दुराडाँडामा ७४ वर्ष पहिले भएको हलोक्रान्ति शान्तिपूर्ण सांस्कृतिक क्रान्तिको उदाहरण हो,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर