आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने मन्त्री बस्नेतको भनाइ

धनुषा। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधान प्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्। बिहीबार धनुषामा निर्मित ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ प्रदेश सरकारलाई हस्तान्तरण गर्दै उनले संवैधानिक व्यवस्थाअनुसार नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको स्पष्ट पारे।

मन्त्री बस्नेतले मन्त्रालयले छ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी काम गरिरहेको दाबी गरे। ‘स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरी तीन हजार २५ शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम गरिसकेको छ,’ उनले भने, ‘अस्पतालले १० प्रतिशत शय्या निःशुल्क छुट्याउने नियम कडाइपूर्वक पालना गराइने छ।’

मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासका लागि पनि सरकारले काम गरिरहेको भन्दै मन्त्री बस्नेतले हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा किड्नी प्रत्यारोपण सेवा सुरु गर्न र जनकपुरधाममा मुटुसम्बन्धी रोगका सबै प्रकारका उपचारका लागि गङ्गालाल हृदय रोग केन्द्रको शाखालाई बलियो बनाउने काम भएको जानकारी दिए। कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि जनसङ्ख्याका आधारमा बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याए।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रकुमार सिंहले मधेस प्रदेशको स्वास्थ्य सुधारका लागि आवश्यक काम भइरहेको र सबै जिल्ला अस्पताललाई एक सय शय्यामा सञ्चालन गर्ने निर्णयसमेत गरिएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर