राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन्।

इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताए। प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर यस विषयमा प्रष्ट पार्ने स्पष्ट पारे। स्पष्टीकरणको मौका नै नदिई एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको उनको भनाइ छ।

यस्तै देशव्यापीरूपमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको तर्फबाट आवश्यक मेहनत गरिएको उनले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक, अन्य सरोकारवाला निकायसँगको छलफलमा पनि सो रोग नियन्त्रणका लागि आवश्यक पहल गरिएको र लाखौं पशु चौपायालाई खोप लगाइएको बताए।

प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागिता आफैँमा महत्त्वपूर्ण रहेको उनले जानकारी दिए। विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर