काठमाडौं। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। प्रदेश प्रमुख खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति साउन गते मंगलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ ज्यूले आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधान विपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको थियो। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले एक साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो। सर्वोच्चले सभामुखसमेतको समर्थनमा कोसी प्रदेशमा गठन भएको सरकार संविधान विपरीत भएको ठहर गर्दै मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ।

