काठमाडौं। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टी स्तरबाट सरकारले गरेका कामको प्रचार हुन नसकेको बताएका छन्। काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा उनले सरकारका राम्रा कामको जस लिन नेताहरूले नै कन्जुस्याइँ गरेको गुनासो गरे।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारमा रहेका मन्त्रीहरूबीच सरसल्लाह गरेर काम गरिरहेको पनि बताए। सरकारले गरेका कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै उनले दुखेसो पोखे। सरकारले गरेका राम्रा कामको स्वामित्व पार्टीले लिनुपर्ने उनको भनाई थियो।
‘अहिले सरकारले इतिहासकै उत्कृष्ट काम गरिरहेको छ। तर सरकारले गरेका राम्रा कामको जति प्रचार हुनुपर्थ्यो त्यो हुन सकेन। प्रचार नभएकैले विपक्षीले हामीमाथि फैलाएको भ्रम चिर्न सकिएको छैन,’ उनले भने, ‘कामको जस लिने कुरामा हाम्रा नेताहरू तथा कार्यकर्ताबाटै कन्जुस्याइँ गरेको देखियो। पार्टी कार्यकर्ता कसैले स्टाटस लेखेनन्। सरकारका कामको पार्टीले स्वामित्व लिनुपर्छ।’
गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिए। उनले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताए। ‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ। यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ,’ श्रेष्ठको भनाइ छ।
पछिल्लो पटक चर्चामा आएको सुन प्रकरणमा माओवादी केन्द्रका नेताहरूको पनि संलग्नताको चर्चा हुन थालेको छ। त्यसैले अनुसन्धान अघि नबढ्ने हो कि आशंका व्यक्त हुन थालेको छ। श्रेष्ठले त्यसलाई चिर्ने प्रयास गरेका हुन्।

