काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्।
मल्लले यससँगै आफ्नो फरक यात्राको आरम्भ भएको बताए। ‘क्रिकेटमा कुनै बेला मैले पनि कसैलाई रिप्लेस गरेको थिएँ होला। यो मेरो समय हो। त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई बिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु,’ उनले भने।
मल्लले प्याराफिटबाट जितको लागि प्रेरणा दिइने दर्शक र परिवारप्रति आभार प्रकट गरे। उनले यो समय बिदाइ नभएर नयाँ यात्राको अध्याय भएको प्रस्ट्याए। ‘कुनै विवाद वा कारणले संन्यास लिएको होइन। सायद यो सही समय हो। त्यसैले मैले संन्यास लिएँ। म आजकै दिनदेखि संन्यास लिएको हुँ,’ उनले भने।
मल्लले पूर्वकप्तान पारस खड्कालाई पनि स्मरण गरे। ‘कुनै बेला पारस खड्का र मेरो जोडीको चर्चा हुन्थ्यो। म पारसजीलाई पनि धन्यवाद दिन चाहन्छु,’ उनले भने। २०७६ साल कात्तिकमा नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका उनले २०७८ मंसिरसम्म कप्तानी सम्हालेका थिए।