काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ। खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो।
उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ। इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो। मुद्दाको सुनुवाइका क्रममा इमरान खान र उनका वकिल इजलास समक्ष अनुपस्थित रहेका थिए। अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो। त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको हो।
न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका छन्। खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन्। पार्टी खानको पार्टी तेहरिक-ए-इन्साफ (पीटीआई) पञ्जाव प्रान्त कमिटीले उनलाई कोट लखपत जेल लगिएको जानकारी ट्विटरमा लेखेको छ। आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन्।
उनको समूहले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन्। उनको पार्टीले भने अदालतबाट पक्षपाती फैसला भएको भन्दै आपत्ति जनाएको छ।