जति धेरै मुद्दा पर्छ चुनावमा उति नै फाइदा हुने ट्रम्पको भनाइ

वासिङटन : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लगाइएका मुद्दाले सन् २०२४ को राष्ट्रपति चुनावमा आफूलाई फाइदा पुर्‍याउने बताएका छन्।

आपराधिक मुद्दामा तेस्रोपटक अदालतमा उपस्थित भएपछि शुक्रबार राति अभियोजकहरूलाई यस्तो बताएका हुन्।​

ट्रम्पले अलाबामामा रिपब्लिकन पार्टीको रात्रिभोजमा भने, ‘जति उनीहरूले मुद्दा दायर गर्छन्, हामीले चुनाव जित्छौँ। यो चुनाव अन्त्य गर्न हामीलाई अर्को अभियोग चाहिन्छ। अर्को एक अभियोगसँगै यो चुनाव समाप्त हुनेछ। कसैलाई पनि मौका मिल्दैन।’

बिहीबारको सुनुवाइका क्रममा ट्रम्पले आफ्नो २०२० चुनावमा हारको परिणाम उल्टाउन खोजेको भन्ने आरोप स्वीकार गरेनन्। यो वर्ष ट्रम्पविरुद्धको यो तेस्रो मुद्दा हो। यो विषय सबैभन्दा गम्भीर मानिएको छ। संघीय सरकारले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा बाधा पुर्‍याउने योजना बनाएको भन्दै ट्रम्पमाथि आरोप लगाएको छ। सामाजिक सञ्जालमा जारी गरिएको पोस्टमा ट्रम्पले आफूलाई निशाना बनाउनेहरूविरुद्ध बदला लिने चेतावनी दिएका छन्।

न्याय मन्त्रालयले ट्रम्पविरुद्ध दायर फौजदारी मुद्दाको सुनुवाइ गरिरहेका संघीय न्यायाधीशलाई यो विषयमा उपयुक्त कदम चाल्न अनुरोध गरेको छ। अभियोजकहरूले शुक्रबार अमेरिकी जिल्ला अदालतका न्यायाधीश तान्या चुटकनलाई यस मुद्दामा सुरक्षात्मक आदेश जारी गर्न आग्रह गरेका थिए।

सुरक्षा आदेश जारी भएपछि ट्रम्प र उनको कानूनी टोलीले मुद्दाको बारेमा सार्वजनिक जानकारी दिन पाउनेछैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय