बाँके। भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ। भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ। शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए।
दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ। मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।रासस

