काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायबाट भइरहेको छानबिन र अनुसन्धानमा जनविश्वास नभएको बताएका हुन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन प्रकरणको छानबिनबारे उनले भने, ‘यो २० दिनमा यो अनुसन्धानलाई प्रभावित हुने किसिमका कयौं क्रियाकलापको निगरानी कसले गरिरहेको छ ? यसको जवाफ कसले दिन्छ ?’ उनले सुन प्रकरणमा सत्तारूढ दलका नेताहरू संलग्न भएको आशंका भए उनीहरू माथि पनि छानबिन गर्नुपर्ने माग गरे।
बैठकमा उनले संसद् अवरोध गरेर तीन दलबीच हुने छलफलबारे समेत असन्तुष्टि व्यक्त गरे। ‘हामीलाई आशंका छ कि केही दलका केही नेता बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन,’ उनले भने, ‘संसद् चल्ने भनेको कुनै अमूक दलका नेताको कुरा मिल्दा र नमिल्दा हैन, यहाँ नेपाली जनताको मुद्दामा छलफल हुनपर्दछ। संसद् चल्नुपर्दछ।’

