एजेन्सी। राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि संकटकाल घोषणा गरेका छन्।
‘राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,’ राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भनेका छन्।
दश दिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज क्विटोमा भएको चुनावी र्यालीमा गोली हानी हत्या गरिएको हो। उनको चुनावी प्रचार टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा चढिरहेका उनको टाउकोमा तीन गोली प्रहार गरेको थियो।
राष्ट्रियसभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा संगठित अपराध र सरकारी अधिकारीहरू बीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारहरूमध्ये एक हुन्। ल्याटिन अमेरिकामा अपेक्षाकृत सुरक्षित र स्थिर देशका रुपमा चिनिएको इक्वेडरमा हालैका दिनमा हिंसा र अपराधमा भर्खरको वृद्धि भएको छ। आपराधिक गतिविधि वृद्धिको मुख्य कारण लागूऔषध तस्करी बनेको छ।
भिल्लाभिसेन्सियोलाई गोली प्रहार भएपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेको थियो। त्यसक्रममा दुई प्रहरी अधिकारीसहित अन्य नौ जना घाइते भएका छन्। क्विटोमा छापा मारेर हत्यामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भ्रष्टाचार नियन्त्रण र वातावरणीय विनाश कम गर्नुपर्ने मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोलाई लागूऔषध तस्करी गर्ने एक गिरोहले हालै ज्यान मार्ने धम्की दिएको थियो।