सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई प्रधानमन्त्रीको अपिल

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर पारेर शनिबार चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विदेश जाने र विदेशमा रहेको सम्पूर्ण युवाहरुलाई आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन अनुरोध गरेका हुन्।

‘विस्तारै देशले नयाँ गति लिँदै छ। देशभित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देशभित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु,’–उनले भने। उनले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागि परेको बताए।

‘हिजो मात्रै सिंहदरबारमा ठूलो भेला गराएर छलफल गराएको थिए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ,’उनले भने ‘यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने विश्वास समेत राखे। कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताए।

उनले देशभित्र युवालाई रोक्न चुनौती रहेको भन्दै उपयुक्त रोजगारीका लागि सरकार लागि परेको बताए। नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत छलफल भएको उनले जानकारी दिए। ‘नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग भारत भ्रमणका क्रममा कुरा भएको छ। त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’–उनले भने। कृषिको विकासका लागि मल कारखाना समेत खोल्ने तयारीमा रहेको दाहालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर