काठमाडौं। नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्न नहुने पक्षमा आफू रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध गर्ने परिस्थिति पनि बनाउन नहुने बताए। उनले संसद् अवरोध एमालेले नगरेको बताए।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले साउन १० यता संसद्को बैठकको बेलमा गएर अवरुद्ध गरिरहेको छ। तर, अध्यक्ष ओलीले एमालेले संसद् चलाउन खोजेको दाबी गरे। सत्तापक्षले संसद् चल्न नदिएको उनको दाबी छ। संसद् निदाएर, सुतेर बस्ने ठाउँ नभएको उनले बताए।
‘संसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन। संसद् देश र जनताका लागि काम गर्ने थलो हो। संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ। संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो,’ उनले भने, ‘अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ। हामी चलाउन खोजिराख्या छौं। तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने।’
अध्यक्ष ओलीले सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको बताए। मुलुकको अर्थतन्त्र, सुशासन, प्रशासनमाथि प्रहार भइरहेको उनको भनाइ छ। अध्यक्ष ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए। सरकारले स्वतन्त्र छानबिन गर्न नसक्ने बाध्यता बुझ्न अप्ठेरो नरहेको उल्लेख गर्दै उनले क्विन्टल सुनको तस्करीको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन हुनुपर्ने माग गरेको बताए।
अध्यक्ष ओलीले ३३ किलो सुन आफ्नो सरकार बन्नुभन्दा पहिला नै आएको बताए। उनले भने, ‘हामीले सुन नभेट्टाए पनि उनीहरूमाथि कारबाही गर्यौं। अहिले पनि जेलमा छन्। सुन बाहिर पठाएको रहेछ। पत्ता लगाउन सकिएन।’ उनले अहिले आफूहरूलाई सत्तामा जाने कुनै रुचि नभएको पनि प्रस्ट्याए।
‘अहिले हामीले उठाएको प्रश्नको जवाफ सरकारले दिनुपर्छ भनेका हौं। तर एमालेलाई सरकारमा रुचि छैन,’ उनले भने, ‘सरकारमा होइन जनताको र आर्थिक अवस्थाको हामीलाई चिन्ता छ। निर्माण व्यवसायी सडकमा उत्रनुपरेको छ। जनताका अनेक समस्या छन्। हामी तीबारे बोलिरहेका छौं।’
उनले फेरि दोहोर्याएर एमालेलाई अहिले सत्तामोह, सत्तालोलुप्ता नरहेको बताए। ‘हामीले सत्तातिर हेरेको छैन, तर सरकारले जे पनि गर्न पाउँदैन,’ ओलीले भने।

