कर तिरेर सुन ल्याउन पाउने व्यवस्थातिर जानुपर्छ : देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर तिरेर सुन ल्याउन पाउने व्यवस्थातिर जानुपर्ने बताएका छन्। काँग्रेस संसदीय दलको सोमबार बसेको बैठकमा उनले कर छलेर अवैध बाटोबाट ल्याउन खोज्दा तस्करी बढेको बताए।

अब कर तिरेर भन्सारबाटै सुन ल्याउने व्यवस्था गरे त्यसले तस्करीको बाटो रोकिने उनको धारणा छ। सभापति देउवाको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सुन आयात खोल्नु पर्‍यो। न्यूनतम कर लगाएर खोल्नुपर्‍यो, नत्र यो समस्या जहिले पनि रहिरहने भयो भन्ने सभापतिज्यूको कुरा छ।’ उनले अवैध सुन तस्करीको छानबिन राज्यका निकायबाटै हुनुपर्ने पनि बताए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको सन्दर्भमा काँग्रेसले अहिलेलाई सिआइबीले नै सुन तस्करीको छानबिन गर्ने निष्कर्ष निकालेको छ। सभापति देउवाले सांसदहरूलाई आलोचना गर्दा अनुशासनको सीमा नबिर्सन निर्देशन पनि दिए।

जनताका मुद्दा र राष्ट्रिय मुद्दामा कसैले बोल्न नरोक्ने उल्लेख गर्दै उनले आफूले पाएको स्वतन्त्रताको दुरुपयोग नगर्न सांसदहरूलाई सुझाव दिए। देउवाको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘राष्ट्रिय मुद्दा, जनताका सवालमा बोल्नुस्, आलोचना गर्नुस्। तर, अनुशासनमा बसेर बोल्नुपर्छ। आधारभूत मूल्य मान्यतामा बोल्नुहोस्।’

प्रतिक्रिया

सम्बन्धित खवर