काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताएका छन्। पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकमा उनले सुशासनका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे।
उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौं। यसरी काम गर्दा जहाँ बेथिति देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौं।’ अध्यक्ष प्रचण्डले आफूहरू सही बाटो हिँडेको उल्लेख गर्दै भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताए। उनले आफूहरूको कदमले प्रतिक्रियावादीमा आतंक सिर्जना भएको पनि दाबी गरे।
‘उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी अप्ठ्यारोमा छैनौं। हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका पक्षमा नयाँ ढंगले काम गरिरहेका छौं,’ उनले भने। अध्यक्ष प्रचण्डले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने बताए।
‘हामीले फेरि पार्टी बनाउन सक्यौं भने देशमा आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौं। विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रूपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताए। केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको मात्रै नभएको उनको धारणा थियो।
बैठकले ती प्रश्नहरूको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरी छाड्नेबारे सकारात्मक र रचनात्मक जवाफ दिएको अध्यक्ष प्रचण्डको भनाइ थियो। बैठकमा बागमती प्रदेश मातहत रहेका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए।

