कोसी प्रदेशमा मन्त्रिमण्डल बिस्तार, कांग्रेसबाट थपिए नयाँ राज्यमन्त्री

विराटनगर। कोसी प्रदेशमा मन्त्रिमण्डल थप विस्तार गरिएको छ। मुख्यमन्त्री उद्धव थापाले बुधबार प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग सहकारी तथा कृषि राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

नवनियुक्त राज्यमन्त्री मण्डलले नियुक्त भएलगत्तै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन्। मण्डल मोरङ क्षेत्र नम्बर ५ को १ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सदस्य हुन्। ७९ वर्षीय मण्डलले यसअघि ज्येष्ठ प्रदेशसभा सदस्यका रूपमा सदनको नेतृत्वसमेत गरिसकेका छन्।

सरकार गठन भएसँगै सदन सञ्चालनका लागि सभामुख निर्क्योल नहुन्जेल उनले जेष्ठ प्रदेश सभा सदस्यका रूपमा सदन सञ्चालन गरेका थिए। सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर सरकार गठनमा सहभागी बनेपछि कोसी सभामुखविहीन बनेको छ। नयाँ सभामुख चयनको प्रक्रिया भने अघि बढाइएको छैन।

सभामुख नहुँदा उपसभामुखले सभा चलाउनुपर्ने व्यवस्था छ। तर, उपसभामुख पनि अनुपस्थित रहेको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउने संवैधानिक व्यवस्था छ। सभा चलाउनेले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन्। ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था बन्दैन। त्यही भएकाले आफूले विश्वासको मत लिनलाई थापाले चलाखीपूर्ण ढंगबाट ज्येष्ठ सदस्य मण्डललाई अहिल्यै राज्यमन्त्री नियुक्त गरेका हुन्।

शपथग्रहणका क्रममा प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीपकुमार सुनुवार, आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम, स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू, भौतिक पूर्वाधार विकास योजनामन्त्री कमलप्रसाद जवेगुसँगै अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। मण्डलको नियुक्तिसँगै प्रदेशमा गठबन्धनतर्फ मुख्यमन्त्री थापासहित चार मन्त्री र एक राज्यमन्त्री भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर