काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेलले बोलाएपछि आज दिउँसो छलफल गर्न ओलीशितल निवासमा पुगेका हुन्।
उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, संसदको गतिरोध अन्त्यलगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारेमा चासो राखेका थिए। राष्ट्रपति पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा जनतामा नैराश्यता बढ्ने भएकाले संसद चलाउने वातावरण बनाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।
भेटमा ओलीले संसदमा एमालेले उच्च स्तरीय छानबिन समिति वा आयोगको गठनको माग राखेको तर सरकार गठनका लागि तयार नभएको बताएका थिए। ओलीले सरकारकै अनिच्छाका कारण संसद नियमित काममा अगाडि बढ्न नसकेको र प्रभावित बनिरहेको बताएका थिए। जवाफमा राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न आग्रह गरेका थिए।

