काठमाडौं महानगरले डेंगी संक्रमण नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कने

काठमाडौं। काठमाडौं महानगरपालिकाले डेंगी संक्रमण नियन्त्रणका लागि पहिलो पटक बायो लार्भीसाइड छर्कने भएको छ। नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी जमेको स्थानमा प्रयोग गर्ने तयारी रहेको छ।

कामपा स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छ भने अन्य जीवाणुलाई असर गर्दैन। उक्त औषधिले लामखुट्टेलाई मात्रै नष्ट गर्छ। अहिले कामपामा ४० जना डेंगी रोग संक्रमित रहेका पनि प्रमुख पौडेलले जानकारी दिए।

मजबुत तरिकाबाट पूर्वतयारी गरेकाले विगतको वर्षको तुलनामा यस वर्ष डेंगी संक्रमितको संख्या कम रहेको भए पनि आउने दिनका लागि तयारी पूरा गरिएको पौडेलले जानकारी दिए। विगतका वर्षहरूमा अहिलेसम्म आउँदा दैनिक १०/१५ जनामा संक्रमण देखा पर्ने गरेको थियो अहिले भने कहिलेकाहीँ मात्रै संक्रमित देखा पर्ने गरेका छन्।

काठमाडौं जिल्लामा भने हालसम्म एक सय ९६ जनामा पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये चार जना अस्पतालमा उपचाररत छन्। कामपाको सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ। प्रमुख पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गरेका छन्।

उनका अनुसार उक्त संक्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोल टोलमा डेंगीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ। एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने यो रोग लाग्दा ज्वरो आउने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेजस्ता लक्षण देखा पर्दछ।

नेपालमा डेंगी संक्रमण देखा पर्न थालेको १९ वर्ष भयो। सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो। यस वर्ष पनि डेंगी संक्रमण दर बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर