कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन सक्दैँनन् : नारायणकाजी श्रेष्ठ

गोरखा। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताएका छन्। गोरखाको अजिरकोट गाउँपालिका-३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उनले वर्तमान सरकार रहुञ्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने जानकारी दिए।

‘कोही निर्दोष पस्ने काम हुँदैन,’ उनले भने, ‘तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति बेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रुपमा निरन्तर अगाडि बढाउनेछ।’ उनले अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘आम मिटरब्याजी पीडित जनतालाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान पनि चल्दैछ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘जति जति सुशासनको अभियान चल्दैछ र जनताको पक्षमा काम हुँदैछ, त्यति त्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि विभिन्न षडयन्त्र गरिरहेका छन्।’ उनले राम्रो काम गर्दा खराब प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफूहरूले राम्रोसँग बुझेको बताए।

‘सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिँदैनन्,’ उनले भने, ‘यो नियम नै हो, यस कारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो तिनका संरक्षक सल्बलायो, सरकारलाई अप्ठेरो पार्‍यो भनेर तै चुपमै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौं।’

गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पूरा गर्दै आनन्दले बाँच्न पाउने गरी जनताले नयाँ जीवनको अनुभूति गर्ने खालको समाज रूपान्तरण गर्न चाहेको बताए।

‘अब नागरिकले आनन्दले बाँच्न पाइयो, दैनिक जीवनका आवश्यकता पूरा पनि भयो र हामीले नयाँ जीवन पायौं भनेर अनुभूति गर्न पाओस्,’ उनले भने, ‘भ्रष्ट, अपराधी, दलाल र तस्करले भने अब हाम्रा दिन गएछ भनेर बुझ्ने दिन आओस्, हामी त्यस्तो देश बनाउन चाहान्छौं।’ उनले संघीय सरकारले देशको सामाजिक र आर्थिक क्षेत्रको रूपान्तरणका लागि सुशासन र सम्बृद्धिको अभियानलाई केन्द्रबिन्दु राखेर अघि बढेको बताए।

‘सरकार सबै खालका अपराधमाथि नियन्त्रण गर्दै र त्यसमा संलग्न दोषीलाई कानुनको कठघरामा ल्याउने र कारबाही गर्ने प्रक्रियामा अघि बढिरहेको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘दोषीलाई कारबाही गर्दा अब त पुग्यो भनेर विश्राम लिने पक्षमा छैनौं, नेपालमा सुशासन स्थापित गर्न र जनतालाई विकासको प्रतिफल दिनका लागि हामी निरन्तर दृढतापूर्वक अगाडि बढ्नेछौं।’

गृहमन्त्री श्रेष्ठले मन्त्रीलाई धक्की दिएर, घेराबन्दीमा राखेर गलत प्रवृत्ति बोकेका कसैको पनि सपना पूरा हुन नदिने बताए। ‘मन्त्रीलाई काम गर्न नदिएर, सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ,’ उनले भने, ‘हामी पदका लागि पदमा गएका होइनौं, देश र जनताको निम्ति काम गर्न गएका हौं। जुन दिनसम्म पदमा बस्छौं, देश र जनताका निम्ति समर्पित भएर काम गर्छौं र यो अभियान विसर्जित गर्दैनौं, यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर