काठमाडौं। समाजवादी मोर्चा, नेपालका संयोजक एवम् नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाकाको तेस्रो बैठक सकिएको छ।
बैठकमा सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायत मोर्चाको केन्द्रीय संयोजन समितिका सदस्यहरूको उपस्थिति थियो।
उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनका साथै समाजवादी मोर्चालाई प्रभावकारी ढंगले अगाडि बढाउने र सात वटै प्रदेशमा समाजवादी मोर्चाको गठन र सन्देश सभाको आयोजना गर्ने निर्णय गर्यो।
कार्यक्रम तालिका अनुसार जनता समाजवादीको आयोजनामा भाद्र ८ गते मधेस प्रदेशको विरगंजमा सन्देश सभा गर्ने निर्णय भएको छ। यसैगरी नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भाद्र १२ गते लुम्बिनी प्रदेशको बुटवलमा सन्देश सभा गर्ने जनाइएको छ।
सन्देश सभाको कार्यक्रम अनुसार नेकपा (एकीकृत समाजवादी)को आयोजनामा भाद्र १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्ने, नेकपा(माओवादी केन्द्र)को आयोजनामा भाद्र १४ गते कर्णाली प्रदेशको सुर्खेतमा सन्देश सभा गर्ने भनी निर्णय भएको कुरा विज्ञप्तिमा उल्लेख छ।
यसै गरी नेकपा (माओवादी केन्द्र)को आयोजनामा भाद्र १५ गते गण्डकी प्रदेशको पोखरामा सन्देश सभा गर्ने, नेकपा (एकीकृत समाजवादी)को आयोजनामा भाद्र २३ गते बागमती प्रदेशको हेटौँडामा सन्देश सभा गर्ने र जनता समाजवादी पार्टीको आयोजनामा यही भाद्र २५ गते कोसी प्रदेशको विराटनगरमा सन्देश सभा गर्ने भनी निर्णय भएको भनी मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए।

