काठमाडौँ । भक्तपुरको एक बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरू भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।
पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । फरार भएका २२१ जना जना नाबालक बन्दी मध्ये धेरैलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यले बताएका छन् ।
बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन् । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।
अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बालसुधार गृहमा थिए । मृतकको शव पोष्टमार्टमका लागी काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।

