कर्णाली मुलुक समृद्धिको मुहान बन्न सक्छ : प्रचण्ड

कर्णाली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्न सक्ने बताएका छन्।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा अपार सम्भावना रहेको भन्दै मुलुक समृद्धिको मुहान भएको बताएका हुन्।

‘कर्णाली एउटा सभ्यता हो। यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ,’ उनले भने, ‘कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान् उत्पादनले मुलुक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने देखाउँछ।’

प्रदेश सरकारको कृषक प्रोत्साहन कार्यक्रम, ‘कर्णालीले जे बेच्छ, मूल्यवान् उपज बेच्छ’ जस्ता नारा र कर्णाली समृद्धि अभियानजस्ता कार्यक्रमबाट आफू उत्साहित भएको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले प्रदेश स्थापनाका लागि लड्दै आफ्नो जीवनको आहुति दिनुहुने अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा देखेको सुन्दर, समृद्ध र समतामूलक समाज निर्माणको सपनालाई साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर