मलेखु। धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ। सनाखत हुनेमा म्याग्दी रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी-८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी-११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन्।
दुई महिला सहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ। मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए। कलंकीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए। उनी सकुशल रहेका छन्।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो। प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा घाइते छन्। १३ जनाको उपचारका लागि काठमाडौं पठाइएको छ। एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन्।
बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशंकामा खोजी जारी राखेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ।

