काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्धरुपमा काम गर्दै आएको बताएकी छन्। उनले भनिन्, ‘नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ। विकासका लागि एकता सधैँ आवश्यक हुन्छ।’
टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक स्व टेकबहादुर साउँदको सालिक अनावरण गर्दै मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जे(जस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताएकी हुन्। विसं २०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो।
‘टीकापुर घटना निकै पीडादायी र दुःखद थियो। त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ,’ उनले भनिन्, ‘अहिले पनि त्यहीँ घटनालाई देखाएर राजनीति गर्नेका कारण शान्त टीकापुरको अशान्तको सन्देश बाहिर पुग्ने गरेको छ। टीकापुरमा अशान्ति छैन, शान्त छ।’ टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सद्भाव स्थापनाका लागि सबैले सकारात्मकरुपमा प्रस्तुत हुन आग्रह गरिन्।
उनले विकास र समृद्धिका लागि सबैले साझा योजनाका साथ सँगै हातेमालो गर्न आवश्यक रहेको बताइन्। ‘हिजो आफ्ना हक, अधिकार र पहिचानका लागि विभिन्न कालखण्डमा आन्दोलनहरू भए। त्यस्ता कयौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई सबै मिलेर संस्थागत गर्नुपर्छ,’ उनले भनिन्, ‘बेमेलले समाजलाई समृद्धि गर्न सकिँदैन। एकता र सद्भावले समृद्धि समाज निर्माण गर्न सकिन्छ।’
राजनीतिक आस्था र विचार फरक फरक भए पनि सबैको उद्देश्य समृद्ध समाजको निर्माण गर्नु नै भएको भन्दै मन्त्री श्रेष्ठले विचारमा आग्रह पूर्वाग्रह भए पनि विकासमा एकता सधैँ आवश्यक हुने बताए। नेपालको संविधान जारी हुँदै गर्दा २०७२ भदौ ७ गते थारुहटरथारुवान छुट्टै राज्यको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा आठ जना सुरक्षाकर्मीसहित नाबालकको ज्यान गएको थियो।

