अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव हुँदैन: अर्थमन्त्री महत

काभ्रे। अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने जानकारी दिएका छन्। सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ। धुलिखेलमा आज जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभामा उनले सो कुरा बताएका हुन्।

‘अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन,’ मन्त्री डा महतले भने।

तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडक खण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडक खण्ड विस्तारको कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडक खण्ड भने सात दशमलव पाँच किमिमा तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ।

यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडक खण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चीनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रेपलान्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने छ भने। ‘उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरूकता पैदा गर्नेछ,’ उनले भने।

मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए। उनले भने, ‘विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ।’ चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै संघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइका उनको भनाइ थियो।

मन्त्री डा महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताए। यसअघि बजेट सुनिश्चितता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उनले हरेक निर्वाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गरे। -रासस

प्रतिक्रिया

सम्बन्धित खवर