काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।”
त्यसपछिका वृत्तिविकासमा आफू सधैँ काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, “यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।”
सो अवसरमा उनले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःखसुख गरेर कठिनाइ र सङ्घर्षका साथ अध्ययन तथा वृत्तिविकासमा लागेको स्मरण गरे । प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताए ।

