एजेन्सी। अमेरिकी प्रथम महिला जिल बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ । सोमबार बाइडेन कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो। राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बहत्तर वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षणमात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनी डेलावेयरको रेहोबोथ समुद्री किनारको घरमा बस्नेछिन्। एक वर्ष अघि पनि प्रथम महिला बाइडेनलाई कोभिड सङ्क्रमण भएको थियो। कोभिड परीक्षणलाई नियमितरूपमा जारी राख्ने र लक्षणहरूको निगरानी गरिने राष्ट्रपतिको कार्यालयले बताएको छ।
पछिल्ला केही साता यता संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमण बढेको छ भने बिरामीको अस्पताल भर्नादरमा पनि वृद्धि भएको छ। यसैबीच एनबिसी न्युजले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै देशमा फेरि कोभिडको अर्को लहर आएको सङ्केत गरेको छ।