फोहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनले काठमाडौंको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन्।

बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए। बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो। यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानूनी प्रबन्ध आवश्यक रहेकामा जोड दिइएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस् निर्णय गरिने जानकारी गराए। उनले भने, ‘संघीय सरकार काठमाडौं उपत्यकालगायत देशभरिको फोहर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ। त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट ठोस् निर्णय गर्नुपर्दछ। आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिने गरी निर्णय लिन्छौं।’

प्रधानमन्त्री प्रचण्डले फोहर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने उल्लेख गर्दै त्यसका लागि ठोस् गृहकार्य गर्नसमेत निर्देशन दिए।

प्रतिक्रिया

सम्बन्धित खवर