भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिई अगाडि बढाउछौँ: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिई अगाडि बढाउने बताएका छन्। माडीमा आज आयोजित एक कार्यक्रममा उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताए।

‘यो मेरो मात्रै नभई सरकारको पनि संकल्प हो। यस अभियानलाई विश्राम लिने छैनौं,’ मन्त्री श्रेष्ठले भने। यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे। भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरूलाई समस्या पारेको भन्दै उनले भने, ‘हाम्रो मिसन र ध्येयमा हामी सम्झौता गर्ने छैनौं।’

‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वाभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने, ‘यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहीनता, ठगीको विरुद्धमा उभिएको छ। यस अभियानलाई निरन्तरता दिनेछौं।’

सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गरे। यी काम सजिलो नभएको भन्दै उनले भने, ‘सजिलो बाटो होइन भनेर तै चुप मै चुप भएर यथास्थितिकै सामु लम्पसार पर्ने काम यो सरकार र गृहमन्त्रीबाट हुन सक्दैन।’ उनले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाउँदै यस्तै अन्य घटनाको खोजी गरी छानबिन गर्ने बताए।

देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रूपान्तरण गर्ने चाहना रहेको बताए। उनले भने, ‘क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा होस् वा नेपालमा लोकतन्त्र स्थापना गर्ने सन्दर्भमा होस् सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेलेका छन्।’

नेपालको जुन राजनीतिक परिवर्तन भए पनि त्यसका पछाडिका उपलब्धिलाई रक्षा गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो। ‘परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रूपान्तरण गर्न, विकास र समृद्धिको प्रक्रिया अगाडि बढाउन, जनताको जीवन फेर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर