काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सचिव एवम् सांसद देवेन्द्र पौडेलले काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भर्त्सना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले भने, ‘आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उहाँले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सिधैँ अस्वीकार गरेर प्रतिकारस्वरुप आक्रमण गरेको कुरा प्रस्ट छ।’
उनले वर्तमान व्यवस्था ल्याउनका लागि लामो संघर्ष गरिएको भन्दै प्रणाली बचाउनका लागि पनि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। अराजक प्रवृत्तिलाई राज्यको कानुनी कठघरामा ल्याएर कारबाही गर्नका लागि उनले जोडदार माग गरे। पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज र पत्रकार एकताबद्ध भएर अघि बढ्नुपर्ने पनि बताए।
‘जसलाई भेट्यो, उसैलाई आक्रमण गर्छौं भन्ने, सामाजिक सञ्जालमा बोल्दै हिँड्ने, सामाजिक सञ्जालमा भन्दै हिँड्ने र त्यो प्रकारको प्रवृत्तिलाई प्रोत्साहन गर्दै हिँड्ने, त्यसैमाथि हामा हाँ गरेर अगाडि बढ्ने प्रवृत्तिलाई पनि हामीले निरुत्साहित गर्नै पर्छ,’ उनले भने, ‘त्यसो गर्न सकिएन भने समाज समाज राज्यविहीन अवस्थामा जस्तो अराजक भएर जान्छ। र, मानवताको मृत्यु हुन्छ।’
पौडेलले पाँच वर्षे रोजिना गोपालीको उपचारको अभावमा मृत्यु भएकोप्रति दुःख व्यक्त गरे। डंगु रोग नियन्त्रण गर्नका निम्ति स्वास्थ्य प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाइ छ। बैठकमा सांसद गणेश पराजुलीले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने अपराधीले कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने माग गरे।

