समृद्धि र सुशासन हाम्रो मुख्य कार्यभार : प्रधानमन्त्री

काठमाडौं। निजामती सेवा दिवस, २०८० का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण राष्ट्र सेवक निजामती कर्मचारीहरुलाई शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बीसौं निजामती सेवा दिवसका अवसरमा सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत मुलुकका निजामति सेवाका कर्मचारीहरुलाई व्यक्तिगत र व्यवसायिक जीवनमा सफलताको शुभकामना दिँदै ठूला राजनीतिक परिवर्तनमा कर्मचारीहरूको अहम् भूमिका रहिआएको बताए।

“राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास, समृद्धि र सुशासनका एजेण्डामा लैजाने हाम्रो मुख्य कार्यभार हो। राजनीतिक परिवर्तनका निम्ति संघर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुबै हामीसामु छ। यसले मात्र लोकतन्त्र बलियो हुन्छ र राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि हुन सक्ने” सन्देशमा प्रधानमन्त्रीले भनेका छन्।

प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही गर्नुपर्ने बताए।

प्रधानमन्त्रीले गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु यतिबेलाको मुख्य जिम्मेवारी भएको वताए।

“संविधानको मूल मर्म, भावनालाई आत्मसाथ गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधारका साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको कुरा हामीलाई अवगत नै छ। निरासालाई चिर्दै जनतामा आशाको रक्तसञ्चार सहित राष्ट्रको मुहार फेर्ने यस अभियानमा निजामती कर्मचारी साथीहरू मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहनुहुनेछ भन्ने मैले विश्वास लिएको छु” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर