काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइरालाले देखाएको राजनीतिक चिन्तनको मार्गमा नेपाली काँग्रेस हिँडिरहेको बताएका छन्।
बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवको आइतबार उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले बिपीले प्रतिपादन गरेका राजनीतिक विचार, उहाँका साहित्यिक कृतिहरूबाट आजको युवा पुस्तालाई बिपीका बारेमा गहिरो ज्ञान बाँड्नु नै महोत्सवको उद्देश्य रहेको बताए। सभापति देउवाले बिपी आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताए।
‘बिपी आफैमा वह आयामिक व्यक्तित्व हुनुहुन्छ, उहाँकै राजनीतिक चिन्तनले देखाएको मार्गमा नेपाली काँग्रेस हिँडिरहेको छ। उनले भने, ‘मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ।’
बिपी साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो। हामीले उहाँलाई भेट्दा, उहाँले आफै भन्नु हुनुहुन्थ्यो कि तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्ने गरेको स्मरण देउवाले भने।
बिपीको विचारलाई हरेक पुस्ताका नागरिकहरूबिच पर्याप्त बहस र छलफल गराउन नसक्नु आफूहरूको कमजोरी रहेको देउवाले बताए। ‘बिपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थ्यो, सबै किसिमका विभेद विरुद्ध आगो ओकल्नु हुन्थ्यो, देउवाले भने।

