काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जित निकालेको छ ।
श्रीलंकाको कोलम्बोमा सोमबार भएको सुपर फोर चरणको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलमा टस हारेर पहिला व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो । भारतको लागि विराट कोहलीले १ सय २२ रन तथा लोकेश राहुलले १ सय ११ रनको अविजित पारी खेले ।
कोहली र राहुलले तेस्रो विकेटका लागि २ सय ३३ रनको अविजित साझेदारी गरेपछि भारतले विशाल योगफल तयार पारेको हो ।
जितको लागि ३ सय ५७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो । पाकिस्तानका ओपनर फखार जमानले सर्वाधिक २७ रन जोडे । पकिस्तानलाई ध्वस्त पार्न भारतका स्पिनर कुलदीप यादवले ५ विकेट लिए ।
सुपर फोरको दोस्रो खेलमा भारतले मंगलबार श्रीलंकासँग खेल्नेछ । पाकिस्तानले भने अर्को खेल बिहिबार श्रीलंकासँग खेल्नेछ ।