ललितपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा जानु भई त्यहाँ राखिएको पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन्। यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जानु भई पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन्।
यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासल पुगेका छन्।
सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले पूर्वसभामुख नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेलेका भूमिकाको उच्च सम्मान गर्दै सरकारले राजकीय सम्मान प्रदान गरी अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरूले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति छ।
समाजवादी मोचाद्वारा दुःख व्यक्त
यसैबीच समाजवादी मोर्चा नेपालले संविधानसभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ। मोर्चाका संयोजक माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै नेता नेम्वाङको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनका योद्धा गुमाएकामा दुःख व्यक्त गरेका हुन्।
विज्ञप्तिमा असल र सादगी नेता नेम्वाङको आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान गरेका नेम्वाङको निधनको खबरले आफू स्तब्ध भएको उनको भनाइ छ। उनले लोकतन्त्रको स्थापना तथा संविधान निर्माणमा उनले निर्वाह गरेको योगदानको स्मरण गरेका छन्।
गएराति हृदयाघातका कारण नेम्वाङको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको थियो। यसैबीच राष्ट्रिय जनमोर्चाले पनि विज्ञप्तिमार्फत उनको निधनमा दुःख व्यक्त गर्दै शोक प्रकट गरेको छ।

