सात कम्पनीबाट ३६२ किलो सुन तस्करी: सिआइबी

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ। उनीहरूमाथि विभिन्न सात वटा कसुर लगाउन सिफारिस गरिएको छ।

उक्त प्रकरणमा आरोपीहरूमाथि हालसम्म भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएको सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

आज आयोजित पत्रकार सम्मेलन उनले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरूले विभिन्न सात वटा कम्पनीबाट तीन सय ६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिइन्।

प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यका अनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ। उक्त अटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन्। त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका उनको भनाइ थियो।

सुन तस्करीबारे ४२ जनाको टोलीबाट अनुसन्धान

उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ। सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन्। उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ। त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्को डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पुर्‍याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिइन्।

उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरूले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए। विभिन्न सात वटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनको भनाइ थियो। तहगतरुपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गो कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको बताए।

भन्सारको भौतिक मूल्यांकन र जाँच पासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्ने गर्दछ तर त्यहाँ संलग्न कर्मचारीहरू पनि अनुसन्धानको दायरमा रहेका छन्। सिआइबीले अब केही बेरमा उक्त रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाउने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो। ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेको थियो। उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ। -रासस

प्रतिक्रिया

सम्बन्धित खवर