कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी हो: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई आज बुधवार पोखरामा सम्बोधन गर्दै उहाँले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताए ।

‘कांग्रेस सबैको हित चाहने पार्टी हो, कांग्रेस आमनागरिकको सुख दुःखमा साथ दिने पार्टी नै हो’, उनले भने, ‘नागरिकको भर विश्वास पनि कांग्रेस पार्टीमा रहेकाले नयाँ उम्रेका पिपलपाते पार्टी क्षणिकका लागि मात्र हुन् ।’

मिसन २०८४ मा पनि कांग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन उनले आग्रह गरे । ‘नेपाली कांग्रेस सीमित व्यक्ति मात्र नभई सबै नागरिक धनी भएको देख्न चाहन्छ, महामानव बीपीको सिद्धान्त पनि नागरिक धनी हुन् भन्ने नै थियो’, उनले भने ।

कांग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उनले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको बताए । कांग्रेसले नेपालमा पहिचानको मुद्दा ७० वर्ष पहिला नै उठाएकाले कांग्रेसभन्दा क्रान्तिकारी पार्टी अरू कुनै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले नेपालको विविधतालाई कुनै हालतमा मास्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर