काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आन्दोलनरत शिक्षकको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन्।
शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको छ। बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्रीसमक्ष आग्रह गरेको बताए। उनले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको जानकारी दिए।
उनले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति ध्यानाकर्षण पनि गराए। बर्तौलाले सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्तामा आउन र समस्याको निकास खोज्नुपर्ने बताए।
उनले भने, ‘हामीले शिक्षा मन्त्रीसँग शिक्षक महासंघले गरेको आन्दोलनबारे कुरा राख्यौं, विद्यालयहरू बन्द भएको अवस्था छ। तत्काल विद्यालय खोल्ने वातावरण बनाउनु पर्छ। त्यसका लागि सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चितता गर्नुपर्छ।’ सचेतक बर्तौलाले जवाफमा शिक्षामन्त्री राईले शिक्षकको माग सम्बोधनका लागि सकारात्मक ढंगले पहल गरेको बताए।

