काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शनिबार विश्वासको मत लिँदै छन् ।
कोसी प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजेलाई तय भएको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
गठबन्धनका उद्धव थापा नेतृत्वको सरकारले गत भदौ ४ गते लिएको विश्वासको मत सम्बन्धी प्रक्रिया सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । सभाध्यक्ष इस्राइल मन्सुरीको समेत मतगणना गरेपछि यो प्रक्रिया बदर गर्दै कार्कीको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएको थियो । भदौ २२ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्र, राप्रपा र जसपासहितको समर्थनमा पुस २४ गते पहिलो पटक मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो ।
शनिबार विश्वासको मत लिने तय भएसँगै कार्कीले आफूलाई विश्वासको मत दिन सबै राजनीतिक दललाई पत्राचार गरेका छन् । तर, संसद्मा रहेका दलहरूले भने विश्वासको मत दिन नसक्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले कार्कीलाई विश्वासको मत दिन नसकिने बताउँदै भने, “हाम्रो दलले निर्णय नै गरेर विश्वासको मत दिन नसकिने जनाउ दिइसकेको छ ।”

