काठमाडौं । गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो ।
यसअघि माओवादीलाई मुख्यमन्त्री दिन नसकिने अडान लिएको नेपाली कांग्रेस अब कुनै हालतमा आफ्नो पक्षमा बहुमत नजुटेपछि पछि हट्न बाध्य भएको छ ।
यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल भएका थिए । अब फेरि कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ ।

