लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपति पौडेलको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै उनले योग्यता प्रणालीको संरक्षकका रूपमा रहेको आयोगको विश्वसनीयतामा अभिवृद्धिका लागि मेहनत गर्न सुझाव दिए ।

नेपालको संविधानले निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने गहन जिम्मेवारी आयोगलाई दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा समेत पदपूर्तिका लागि लिखित परीक्षा स्वयं आयोगले नै गर्नेगरी कार्य क्षेत्रमा व्यापक विस्तार भएको बताए ।

नेपाली जनताको आस्था र विश्वासको धरोहरका रूपमा रहेको संवैधानिक निकाय लोक सेवा आयोगले गरेको कार्य सराहनीय रहेको जनाउँदै उनले आगामी दिनमा समेत आफ्नो क्षमता अभिवृद्धि गरी अझ प्रभावकारीरूपमा कार्यसम्पादन योग्य, सक्षम र दक्ष जनशक्ति छनोट गर्दै जाने विश्वास व्यक्त गरे । कामकारबाहीलाई जनमुखी र पारदर्शी बनाउन तथा उम्मेदवारको सहभागितामा वृद्धि गर्न आयोगले गरेको कामबाट आफूलाई खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगको छवि सधैँ स्वच्छ र निश्चल रहोस् भन्ने कामना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर