शेखर कोइराला, प्रचण्ड र देउवाबीच गठबन्धनलाई कमजोर हुन नदिने सहमति

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाएका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र नेता कोइरालाबीच शनिबार गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो।

तीन नेताको बैठकले वर्तमान सत्ता गठबन्धन‌प्रति आफूहरू दृढ र स्पष्ट रहेको उल्लेख गरेका छन्। बैठकपछि ३ नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा भनिएको छ, ‘ हामी वर्तमान सत्ता गठबन्धन‌प्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धन‌लाई कुनै पनि हालत‌मा कमजोर हुन दिने छैनौं।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकले गठबन्धनमा रहने प्रतिबद्धतासहित कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनकै साथ रहने सहमति भएको छ। सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. कोइराला पक्षले विद्रोह गरेका थियो।

उनका विश्वासपात्र केदार कार्कीले काँग्रेसका ८ प्रदेश सांसद र एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए। शनिबार ४७ जनाले हस्ताक्षर सनाखत गरेसँगै कार्की कोशीको मुख्यमन्त्री बनेका छन्। संविधानको धारा १६८ को ५ अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर